प्रधानमन्त्रीले बोलाएको बैठक बिना निष्कर्ष टुंगियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विना निष्कर्ष सकिएको छ ।
भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्वपा सभापति रवि लामिछानेले बताए ।
लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको बताए । ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ’, उनले भने ।
१० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।
सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।