सभामुखलाई मतदान गर्न संविधानले छेक्दैन : इन्द्रबहादुर आङ्बो
विराटनगर - नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानअनुसार सभामुखले विश्वासको मत दिन मिल्ने बताएका छन् । कोशी प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले राजनीतिक निकासका निम्ति सभामुखले मत हाल्ने मिल्ने बताएका हुन् ।
प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार भने मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएर ‘अचानक स्वास्थ्यमा समस्या देखिएको’ भन्दै काठमाडौं लागेपछि काँग्रेस सांसद इस्राइल मन्सुरीले बैठक संचालन गरिरहेका छन् ।
९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् ।
तर, काँग्रेस सांसद मन्सुरीले प्रदेशसभा संचालन गरेकाले गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको छ ।