Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल–लेवनान

रक्षामन्त्री खड्का र लेवनानका वाणिज्य दूत गोउजायलबीच शिष्टाचार भेट

बिहीबार, भदौ ७, २०८०

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि लेवनानका अवैतनिक वाणिज्य दूत शेख एल्चेइख मोहमेदविसाम गोउजायलबीच शिष्टाचार भेटघाट भएको छ । 

आज रक्षा मन्त्रालय सिंहदरबारमा भएको शिष्टाचार भेटघाटमा उपप्रधानमन्त्री खड्काले नेपाल र मित्रराष्ट्र लेवानानबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेवनानबीच असल सम्बन्ध रहेको कुरा व्यक्त गर्दै यूनिफिल मिशनमा लेवनानको शान्ति प्रकृयामा योगदान पुर्‍याउन पाएकोमा खुशी व्यक्त गरे ।

उनले नेपाल र लेवनान दुवै मुलुक प्रकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको भन्दै पर्यटन उद्योगलगायतका क्षेत्रमा सहकार्य गर्न लेवनानको तर्फबाट लगानीको लागि आव्हान समेत गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

‘सन् १९७८ देखि यूनिफिल मिशन अन्तर्गत हालसम्म ५० हजार भन्दा माथि शान्ति सैनिकहरु तैनाथी भई आफ्नो जिम्मेवारी पूरा गरिसकेको र हाल ८७५ जना शान्ति सैनिकहरु लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको रक्षामन्त्री खड्काले बताउनुभयो’, रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।  

purna bahadur khadka_lebnaan cnnepal1692885583.jpg

उनले नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमण नियमित रुपमा हुने गरेको कुरा औंल्याए । 

उक्त अवसरमा वाणिज्य दूत गोउजायलले लेवनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिक प्रति लेवनानी जनताको सकारात्मक भावना रहेको कुरा औंल्याए ।

वाणिज्य दूत गोउजायलले दुई देशबीच पर्यटन, उद्योग, जलश्रोत लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने संम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको कुरा ‌बताएको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

‘साथै, उहाँले दुई देशबीच द्विपक्षीय श्रम, उद्योग, वाणिज्य, व्यवस्थापकीय लगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने कार्य लेवनानको तर्फबाट अघि बढाएकोले नेपालको तर्फबाट ती विषयहरु शीघ्र टुङ्गोमा पुर्‍याउने कार्यमा भूमिका निर्वाह गर्न माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूलाई अनुरोध समेत गर्नुभयो’, रक्षा मन्त्रालयले जनाएको छ ।     

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्