साउदीअरब : अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ
एजेन्सी - साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ ।
त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा बिद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ ।
साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० दिनसम्म विद्यालयमा नआएको खण्डमा विद्यार्थीको अभिभावकलाई राज्यको बाल संरक्षण कानून अन्तर्गत सार्वजनिक अभियोजन कार्यालयमा पठाउने जिम्मेवारी विद्यालयलाई दिईएको छ । समाचार अनुसार सार्वजनिक अभियोजन कार्यालयले बच्चा विद्यालय नआउनुको कारणबारे छानबिन गरी मुद्दालाई फौजदारी अदालतमा पठाउने छ ।
यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी अनुपस्थित हुनु अभिभावकको लापरवाहीबाट भएको प्रमाणित भएमा न्यायाधीशले अभिभावकलाई तोकिएको अवधिसम्म जेल सजायको आदेश दिन सक्नेछन् । समाचार अनुसार यस्तो अवस्थामा विद्यालयका प्रधानाध्यापकले शिक्षा मन्त्रालयलाई जानकारी दिनुपर्नेछ, जसले अनुसन्धान थाल्छ र विद्यार्थीलाई पारिवारिक हेरचाहमा सार्ने आदेश दिनेछ।