Nic Ad Nic Ad
Nic Ad Nic Ad

पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खुला 

शनिबार, भदौ ९, २०८०

सप्तरी - सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् । खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको हो । 

पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाब बढेको हो। सप्तकोसीमा नदीमा शुक्रबार राति १० बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुम प्रशासनले जनाएको छ । 

कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिवार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

यसअघि गत साउन २९ गते यस वर्षकै उच्च ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

सप्तकोसीमा पानीको बहाव बढेपछि आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।सप्तकोसीमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ।

कोशी ब्यारेजका सबै ढोका खोलेका कारण कोसी प्रभावित क्षेत्रमा कुनै खतरा नभएको र पूर्व(पश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई समेत सावधानीपूर्वक सञ्चालन गरिएको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्