धरान छिर्न नपाएपछि इटहरीमै प्रदर्शन
इटहरी – धरानमा निषेधाज्ञा जारी भएपछि धार्मिक अभियान्ताहरूले इटहरीमा विरोध प्रदर्शन गरेका छन् ।
धरानमा शुक्रबार रातिदेखि आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाले प्रदर्शनकारीहरू धरान छिर्न पाएनन् ।
उनीहरूले इटहरीमै प्रदर्शन गरे । प्रदर्शनकारीहरूले 'गाई हाम्री आमा हुन्, आमा काट्न पाइँदैन, हिन्दु राष्ट्र कायम गर, गोवध हत्यारालाई कारबाही गर, नेपाल सरकार मुर्दावाद' जस्ता नारा लगाएका थिए ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरानको अवस्था सामान्य रह्यो । निषेधादेशका कारण शनिवार बिहानैदेखि धरानमा मानिसहरूको चहलपहल न्यून थियो ।
मन्दिर अगाडि चर्च बनाएको र सार्वजनिक रुपमा गोरुको मासु काटेर खाएको विरोधमा हिन्दु अभियान्ताले धरानमा आज बृहद प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
पहिचानवादीहरूले त्यसलाई प्रतिकार गर्ने जवाफ दिएपछि सम्भावित मुडभेडलाई ध्यानमा राखेर धरानमा निषेधाज्ञा जारी गरिएको थियो । प्रहरीले धरान छिर्ने प्रवेश नाकामा सार्वजनिक तथा निजी सवारी साधनलाई कडाई गरेको थियो ।