आज संसदीय समितिमा नेतृत्व चयन हुँदै, ९ निर्विरोध, एकमा प्रतिस्पर्धा
काठमाडौँ – प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ ।
त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका संसदीय समिति हुन् । आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ ।
दस संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) का ऋषिकेश पोखरेल र किरणकुमार साह, नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, नेपाली कांग्रेसका सन्तोष चालिसे, आरजु राणा देउवा र रामहरि खतिवडा, जनता समाजवादीका राजकिशोर यादव, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्विरोध हुँदैछन् ।
उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका खान र रास्वपाका पराजुलीबीच प्रतिस्पर्धा हुँदैछ ।