ब्याटिङ फ्रेन्ड्ली मुल्तानको पिचमा सन्दीपको परीक्षा
काठमाडौं - पञ्जाबस्थित बिहारी रोडबाट नजिकै रहेको मुल्तान रंगशालाको कुल दर्शक क्षमता ३५ हजार छ । आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा यही रंगशालामा विश्व नम्बर एक पाकिस्तानविरूद्ध नेपालले भिड्दैछ ।
यो मैदानमा स्पिनरहरूको प्रदर्शन फास्ट बलरको तुलनामा निकै राम्रो छ । त्यसैले सन्दीप लामिछाने र ललिल राजवंशीका लागि निकै महत्वपूर्ण हुनेछ । विश्वकै उत्कृष्ट खेलाडीहरूसँग विभिन्न लिगमा प्रतिस्पर्धा गरिरहेका सन्दीपका लागि अझै विशेष हुनेछ ।
गत वर्ष वेस्ट इन्डिजले पाकिस्तान भ्रमण गर्दा सबै खेल मुल्तान रंगशालामै भएको थियो । यस मैदानमा सबै खेलमा पहिलो इनिङमा ब्याटिङ गर्नेले २ सय ५० प्लस रन बनाएका थिए । पाकिस्तानले पहिलो एकदिवसियमा ३ सय ६ रनको चुनौती पछ्याएको थियो ।
यो मैदानमा सन् २००४ मा पाकिस्तानले बंगलादेशविरुद्ध ३ विकेट गुमाएर ३२३ रन बनाएको थियो । जुन यस मैदानमा बनेको अहिलेसम्मको उच्च स्कोर हो । यही आँकडाले यो मैदान ब्याट्सम्यानहरूका लागि प्रिय छ भन्ने् देखाउँछ ।
यस मैदानमा बनेको सबैभन्दा कम स्कोर १४८ हो । यतिबेला जिम्बाबे अलआउट भएको थियो । यो मैदानमा पहिला ब्याटिङ गर्ने टिमले बनाएको औसत रन २ सय ५५ छ ।
आजको मौसम गर्मी रहने अपेक्षा छ । तापक्रम ३० डिग्री माथि हुनसक्ने प्रक्षेपण छ । खेल सुरु हुँदासम्म मैदान सुख्खा भइसक्नेछ ।
त्यसैले पहिलो ब्याटिङ गर्नेले राम्रो स्कोर बनाउनसक्छ ।
गत वर्ष वेस्ट इन्डिजविरूद्धको शृंखलामा नवाज, सदाब र अकेल हुसैन सर्वाधिक विकेट लिनेको सुचीमा शीर्ष तीनभित्र थिए । यदी, यस्तै अवस्था रहे आज स्पिनरहरुको महत्वपूर्ण भूमिका रहनेछ ।
नेपालका लागि स्पीन अट्याकमा सन्दीप लामिछाने र ललित राजवंशीले मुख्य भुमिका निर्वाह गर्नसक्छन् । उनीहरुले यो पिचमा फाइदा उठाउन सक्ने छन् । सन्दीपसँग विश्वका विभिन्न लिगमा खेलिसकेको अनुभव छ ।
त्यसैले पनि उनीबाट नेपालको अपेक्षा ठूलाे छ । तर, यस मैदानमा विकेट लिनका लागि बलरले निकै ट्याक्टिकल्ली खेल्नुपर्नेछ ।