लण्डनमा विकास हुँदै सिन्थेटिक अल्कोहल : जसले मताउनेछ, तर ह्यांगओभर हुनेछैन
एजेन्सी - लण्डनस्थित गाबा ल्याबले त्यस्तो अल्कोहल तयार गर्दैछ, जसलाई पिएपछि मानिसहरु मात्नेछन् । तर ह्याङ ओभर वा कुनै नकारात्मक असर हुनेछैन ।
यो सिन्थेटिक अल्कोहललाई ‘अल्केयल्र्ली’ नाम दिइएको छ । यसलाई सन् २०२६ सम्म बजारमा ल्याउनेगरी काम भइरहेको गाबा ल्याबका संस्थापक डा. डेभिड नुटले बताएका छन् ।
अल्कोहलको सेवनले कलेजो, हृदय, मस्तिष्कमा क्षति पुर्याउँछ । सिन्थेटिक अल्कोहलको विकासले यस्ता समस्या कम गर्ने र दशौं लाख मानिसको ज्यान जोगाउनसक्ने नुटले बताए ।
गामा अमिनोबुर्टिक एसिड त्यस्तो न्युरोट्रान्समिटर हो , जसले मस्तिष्कमा केही सिग्नलहरु ब्लक गर्नेछ । जसकारण मानिसलाई आरामदायी महसुस हुनेछ । जब मस्तिष्कमा अल्कोहल पुग्छ, तब गाबा रिसेप्टर्सहरुसँग यो मिल्छ र मानिसहरु मात्छन् ।
तर, अल्कोहलमा धेरै नकारात्मक प्रभावहरु छन् । स्मरण शक्ति कमजोर बनाउने, ह्याङओभर हुने, बोल्न गाह्रो हुने, हिंड्दा लड्बडाउनेलगायत समस्या देखिन्छन् । गाबा ल्याबले त्यस्तो अल्कोहल तयार गर्ने तयारी गरिरहेको छ, जसले यसका सकारात्मक प्रभावहरु सबै उपलब्ध गराउनेछ । नकारात्मक प्रभाव शरीरमा हुने दिनेछैन ।
‘एक ग्लास वाइन खाँदा जस्तो हुन्छ, यसले त्यस्तो महसुस गराउनेछ,’ गाबा ल्याबमा संस्थापक डा. डेभिड नुटले द वाल स्ट्रिट जर्नलसँग भनेका छन्, ‘यो आरामदायी छ । यसले मानिसलाई सामाजिक रुपमा घुलमिल हुन सघाउँछ ।’
उनले थपे, ‘हामीलाई थाहा छ कि मस्तिष्कमा अल्कोहलका राम्रा र नराम्रा दुबै प्रभाव हुन्छन् । यसले नकारात्मक प्रभावहरुलाई हाबी हुन दिने छैन ।’
अल्केयर्ली यस्तो स्वादरहित तत्व हो, जसलाई अन्य ड्रिंक्समा पनि मिसाउन सकिन्छ । अल्कोहलयुक्त र अल्कोहलरहित पेय पदार्थमा पनि मिसाउन सकिन्छ । यसले हल्का मताउनेछ, तर नकारात्मक प्रभाव हुनेछैन ।