Nic Ad Nic Ad
Nic Ad Nic Ad
ताप्लेजुङ गोल्डकप

जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा

बिहीबार, भदौ १४, २०८०

ताप्लेजुङ– ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपको पहिलो खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टिम मानाभारा युथ स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको हो । दुवै टिमले निर्धारित समयमा एक÷ एकको बराबरी खेलेका थिए ।

खेलको पहिलो हाफमा इटहरीका रोहण कार्कीले एक गोल गरेर अग्रता लिए पनि दोस्रो हाफको खेलमा मानाभारा युथ स्पोर्टिङ क्लबका खेलाडी लोहन पतंवाले एक गोल फर्काउँदै बराबरी गरेका थिए । 

अर्को खेलमा रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमकबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जेलिङको युनाईटेड खर्साङ क्लबसहित ८ टिम सहभागी छन् । सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको प्रतियोगिताको फुङलिङ नगरप्रमुख अमीर मादेनले उद्घाटन गरेका थिए ।

 विसं २०२९ देखि लाखे जात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ को महामारी लगायतका कारण रोकिएको थियो । यसअघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस पटक ताप्लेजुङ गोल्डकपका रुपमा सञ्चालन भएको हो ।

भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

लाखेजात्रा सँगैको खेलकुद प्रतियोगितामार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइ राख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पूर्ण रुपले जुटेको अध्यक्ष गुरुङले बताए । –रासस

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्