साउदीमा सलाहलाई १५ करोड पाउन्डको प्रस्ताव
एजेन्सी – महोम्मद सलाहलाई आफ्नो क्लबमा भित्र्याउनका लागि साउद प्रो लिग क्लब अल इतिहाद निकै आतुर देखिएको छ । क्लबले यस विषयमा कुराकानी गर्नका लागि लिभरपुलमा आफ्ना प्रतिनिधि समेत पठाएको छ ।
बेलायत सञ्चारमाध्यम ‘द टेलिग्राफ’का अनुसार अल इतिहादले सलाहको स्थानान्तरणका लागि लिभरपुललाई १५ करोड पाउन्ड तिर्ने तयारी गरिरहेको छ । त्यस्तै, सलाहलाई प्रति साता १५ लाख पाउन्ड तलब दिने तयारी गरेको छ ।
लिभरपुलले यसअघि सलाह आफ्नो टोलीका महत्वपूर्ण खेलाडी रहेको भन्दै उनलाई नबेच्ने बताएको थियो । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो क्लबका लागि सलाहको विकल्पमा अन्य खेलाडी उपलब्ध नरहेको र बजारमा पनि उनको विकल्प दिनसक्ने खेलाडी नरहेको बताइसकेका छन् । तर, मोटो रकमको प्रस्ताव आएकाले लिभरपुलको बोर्ड उनलाई बेच्ने निर्णयमा पनि पुग्नसक्छ ।
प्रिमियर लिगको ट्रान्सफर विन्डो आजै बन्द हुँदैछ । तर, साउद प्रो लिग क्लबको ट्रान्सफर विन्डो अझै एक सातासम्म खुला रहनेछ । जसको अर्थ क्लबले नयाँ खेलाडी भित्र्याउनसक्छन् ।