बिपी साहित्य पुरस्कार विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने
काठमाडौँ– जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बिपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।
ट्रष्टले बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानअन्तर्गत साहित्य सम्मान पुुरस्कार–२०८० वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रूपन्देही)लाई प्रदान गर्ने निर्णय गरेको हो ।
साहित्य सम्मान पुरस्कारको राशि रु एक लाख एक हजार र प्रजातन्त्र सेनानी सम्मानको पुरस्कार रु ५१ हजारको रहेको छ । ट्रष्टको पुरस्कार छनोट समितिका संयोजक डा धुव्रचन्द्र गौतमको संयोजकत्वमा ट्रष्टका महासचिव रामचन्द्र पोरखेल र डा ज्ञानु पाण्डेको सिफारिस समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
उक्त सम्मान तथा पुरस्कार बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा यही भदौ २२ गते राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रदान गरिने ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।