महिला टी २० विश्वककप एशिया क्षेत्र छनौटमा नेपाल सेमिफाइनलमा
काठमाडौं - आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले हराएको छ । मलेसियाको बांगीमा आज भएको खेल जितेसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनल पुगेको छ ।
समूह एमा रहेको नेपालले लगातार चौथो जित निकालेको हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो ।
कतारविरूद्ध ७५ रनको सामान्य विजयी लक्ष्य नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् ।
उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् । त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन ।
नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।