रूसी राष्ट्रपति पुटिन र समकक्षी एर्दोगानबीच भेटवार्ता हुँदै
इस्तानबुल– टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान युक्रेनको खाद्यान्न निर्यात सम्झौतालाई पुनर्जीवित गर्ने विषयमा केन्द्रित भ्लादिमिर पुटिनसँग वार्ता गर्न आज रूसको ब्ल्याक सी रिसोर्ट सोची आइपुगेको टर्कीको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
एर्दोगानसँगै टर्कीका रक्षा, विदेश, ऊर्जा र अर्थमन्त्रीसहितको ठूलो प्रतिनिधिमण्डल रहेको अनादोलु सरकारी समाचार एजेन्सीले जनाएको छ ।
टर्कीका नेताले बैठकअघि संक्षिप्त उद्घाटन मन्तव्य राख्ने कार्यक्रम रहेको र त्यसपछि पत्रकार सम्मेलन गरिने उनको कार्यालयले जनाएको छ ।
टर्कीले संयुक्त राष्ट्रसङ्घसमर्थित सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ जसले युक्रेनी ‘ब्ल्याक सी’मा तीन बन्दरगाहबाट खाद्यान्नको सुरक्षित निकासको अनुमति दिएको छ । रुसले जुलाईमा उक्त सम्झौताबाट हात झिकेको थियो र त्यसपछि युक्रेनी बन्दरगाहको पूर्वाधारमा पटक–पटक हवाई आक्रमण सुरु गरेको थियो ।
नेटो सदस्य टर्कीले मस्को र कीएभबीचको शान्ति वार्ता पुनः सुरु गर्नका लागि अन्न सम्झौतालाई आधारको रूपमा प्रयोग गर्ने अपेक्षा गरेको छ ।
अङ्काराले युद्धको दौडान दुवै पक्षसँग मैत्रीपूर्ण सम्बन्ध राख्न सफल भएको छ । उसले रुसमाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धबाट पछि हटेको छ तर युक्रेनलाई हतियार आपूर्ति गरेको छ ।