सुन प्रकरण : पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई सीआईबीले लियो बयान
काठमाडौँ - ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा नाम मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दिपेश पुनसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।
पुन नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत हुन् । उनलाई सोमबार सीआईबीले कार्यालयमै बोलाएर बयान लिएको हो ।
राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो ।
सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो । त्यसपछि सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ ।
यो प्रकरणमा २६ जना पक्राउ परिसकेका छन् । हालसम्म पक्राउ पर्नेहरुमा रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल छन् ।
राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।