नयाँ दिल्लीमा जी–२० सम्मेलनमा मोदीको सम्बोधनः के–के छन् दुई दिनका मुद्दा?
काठमाडौं– विश्वका २० धनाड्य मुलुकको सम्मेलन जी–२० शनिबारदेखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गर्दै सम्बोधन गरेका छन्।
शिखर सम्मेलनका आयोजक भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा शनिबार अफ्रिकन युनियनले नयाँ सदस्यको रूपमा औपचारिक आसन ग्रहण गरेको छ।
जी–२० सम्मेलन आयोजनासँगै भारतले अर्को फड्को मारेको छ। यो सम्मेलनमा ‘ईन्डिया’ नभनी भारत देशका रुपमा मोदीले नयाँ परिचय स्थापित गराएका छन्।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक र अध्यक्ष क्रिस्टालिना जर्जिएभा र विश्व व्यापार संगठन (डब्लुटीओ) का महानिर्देशक एनगोजी ओकोन्जो–इवेला पहिलो आगमनमा थिए।
यो जी–२० राष्ट्रहरूको १८औंं बैठक हो। यो भारत मण्डपम अन्तर्राष्ट्रिय प्रदर्शनी–कन्भेन्सन सेन्टर (आईईसीसी), प्रगति मैदान, नयाँ दिल्लीमा भइरहेको छ। यो भारत र दक्षिण एसियामा पहिलो पटक भएको शिखर सम्मेलन हो।
भारतको अध्यक्षता १ डिसेम्बर २०२२ मा सुरु भभएको थियो। २०२३ को तेस्रो त्रैमासिकमा शिखर सम्मेलन सम्म पुग्यो।
शिखर सम्मेलनमा छलफलका लागि भारतले ६ वटा एजेन्डा अगाडि सारेको छ। हरित विकास, जलवायु वित्त र जीवन, द्रुत, समावेशी र लचिलो वृद्धि, एसडीजीएसमा प्रगतिको गति, प्राविधिक रूपान्तरण र डिजिटल सार्वजनिक पूर्वाधार, २१ औं शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र महिला नेतृत्वको विकास एजेन्डाका रुपमा प्रस्तुत गरिएका छन्।
२६ अगस्तमा एक अन्तर्वार्तामा, प्रधानमन्त्री मोदीले भारतको अध्यक्षता अन्तर्गत देशहरूको विकसित एजेन्डाको बारेमा आशावादी रहेको बताएका थिए। जलवायु परिवर्तन, ऋण पुनर्संरचना लगायत ग्लोबल साउथका सरोकारहरूसँग मिल्ने मानव–केन्द्रित विकास दृष्टिकोणतिर अगाडि बढेको उनको भनाई थियो।