...अनि ओलीतिर मोडिएका थिए सुवास नेम्वाङ
काठमाडौं– बेहोस् अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुगेपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई मृत घोषणा गरिएपछि राजनीतिक बृत्तमा सन्नाटा छाएको छ।
दोस्रो पटक संविधान सभाको अध्यक्षमा सर्वसम्मत भएका नेम्वाङको स्मरणको दस्ताबेज नेपालको संविधान २०७२ नै मानिन्छ। सौम्य, शालिन तर मौन कटाक्ष गर्ने खुबी पनि भएका नेम्वाङको हृदयघातबाट मंगलबार निधन भएको छ।
नेपाली कम्युनिस्ट राजनीतिको उत्सव र उतार चढावका एक साक्षी थिए नेम्वाङ। नेकपा एमाले र माओवादीको एकीकरणपछिको नेकपा अनि विभाजनको आरोह अवरोहलाई मन्थन गर्नका लागि उनको भूमिका कम थिएन।
यहाँसम्मकी नेकपा विभाजन रोक्ने कसीका रुपमा उनको नाम साझा प्रधानमन्त्रीका रुपमा प्रस्तावित भयो तर त्यो मौका नपाएका नेम्वाङ पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथि राजनीतिक प्रस्तावका रुपमा लगाइएको आरोपको विपक्षमा थिए।
नेकपा जोगाउनका लागि हर सम्भव प्रयत्नमा लागेका उनी एमाले र माओवादीलाई अदालतले फेरि ब्युँताएपछिचाहिँ ओलीतिर मोडिए। ओलीले प्रतिनिधि सभा विघटन गर्दा उनको बाध्यात्मक समर्थन थियो यसैकारण खासै प्रतिक्रिया दिएका थिएनन्। उनले त्यस प्रकरणलाई बेठिक भनेनन् तर ठिक पनि भनेनन्।
प्रचण्डले लगाएका कतिपय आरोपमा नेम्वाङको समर्थन थिएन। ‘कमरेड केपी शर्मा ओलीले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ । व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनुभएको छ’ भन्ने प्रचण्डको आरोपमा नेम्वाङको सहमति थिएन।
‘बहुमतको निर्णय म मान्दिन, मेरो निर्णय बहुमतले मान्नुपर्दछ भन्ने मान्यता नै कमरेड ओलीका संगठनात्मक मान्यता हुन् । स्पष्ट छ कि यसप्रकारको सोच र शैलीको कम्युनिष्ट पार्टीको सिद्धान्त श्रमजीवि वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको हुन्छ’ भन्ने प्रचण्डको अर्को आरोपमा पनि नेम्वाङ सहमत थिएनन्।
नेकपामा स्थायी कमिटीमा रहेका बेला उनी नेपाल ल क्याम्पस अध्यापनमा पनि सक्रिय भएका थिए। तर जब एमालेले उनलाई संसदीय दलको उपनेताको जिम्मेवारी दियो, उनी राजनीतिक काममा नै ब्यस्त भए। नेम्वाङलाई नजिकबाट चिन्ने एमाले नेताहरू भन्छन्,‘उहाँको राजनीतिक सौन्दर्यता भनेकै सबैका कुरा सुन्ने र आवश्यक विषयमा सल्लाह दिने हुन्थ्यो।’ उनले कतिपयलाई ब्यंग्य गर्दाचाहिँ खै अहिले नाम बिर्सिएँ भन्ने गर्दथे।