नेम्वाङको शोकमा सारियो प्रतिनिधि सभा बैठक
काठमाडौँ- भदौ २७ गतेका लागि बोलाएको प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्नेगरी सरेको छ ।
संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
सूचनामा भनिएको छ,संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधबार दिनको १:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।