गैह्रीगाउँ हत्याकाण्ड : तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन
काठमाडाैं - काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएकाे छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
उनका अनुसार काठमाडौका सबै नाकामा प्रहरी टोली परिचालन गरिएको छ।
काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति एकै परिवारका तीन सहित चार जनाको हत्या भएको थियो।
हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख थापाले जानकारी दिए।
उनका अनुसार चारै जना सोही स:मिल (काठ मिल) मा कार्यरत थिए। उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ।
त्यस्तै, हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको थापाले जानकारी दिए। राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनले मदिरा सेवन गरेको पाइएको छ।