Nic Ad Nic Ad
Nic Ad Nic Ad

ईयूले टर्कीबाट आफूलाई टाढा राखेको एर्दोगानको आरोप 

शनिबार, भदौ ३०, २०८०

इस्तानबुल– टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपेली सङ्घ टर्कीबाट अलग्गिएको आरोप लगाएका छन् । 

राष्ट्रपति एर्दोगानले रूसको युक्रेन आक्रमणपछि नेटो सैन्य गठबन्धनमा सामेल हुने स्वीडेनको अभियानमाथिको नाकाबन्दी फुकुवा गर्ने बदलामा सन् २००५ मा सुरु भएको सदस्यता वार्तालाई पुनरुत्थान गर्न ब्रसेल्सबाट प्रतिबद्धता प्राप्त गरेका थिए । 

यसै महिनाको सुरुमा ईयूका विस्तारमामिला आयुक्त ओलिभर भार्हेलीले टर्कीको भ्रमण गर्दै सदस्यताको ‘ठूलो सम्भावना’ भए पनि वार्ता पुनः सुरु हुनुअघि समूहले मानवअधिकारका मुद्दाहरूमा कदम चाल्नुपर्ने बताएका थिए । 

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क उड्नुअघि एर्दोगानले इस्तानबुलको अतातुर्क विमानस्थलमा पत्रकारसँग भने, “युरोपेली सङ्घले हामीबाट दूरी कायम गर्न खोजिरहेको छ ।” उनले भने, “हामी आफ्नै स्थितिको मूल्याङ्कन गर्नेछौं र अर्को दिशा पनि लिन सक्नेछौं ।”

एर्दोगानले सन् २०१६ को जुलाईमा भएको असफल ‘कू’ पछिको सरकारको व्यापक दमन र वर्षौंदेखिको तनावपछि यसै बर्ष मे महिनामा सम्पन्न निर्वाचन जितेका थिए । चुनाव जितेपछि पश्चिमा मित्रराष्ट्रहरूसँगको बिग्रिएको सम्बन्ध सुधारलाई उनले प्राथमिकता दिएका छन् ।

“युरोपेली परिषद्ले पनि स्पष्ट मापदण्ड तय गरेको छ, जसलाई सम्बोधन गर्न आवश्यक छ”, भ्रमणका क्रममा भार्हेलीले भने,“यी मापदण्डहरू लोकतन्त्र र विधिको शासनसँग सम्बन्धित छन् र यो नै सुधारसाथ अगाडि बढ्ने विश्वसनीय रोडम्याप हो ।” 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्