Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : क्रिप्टोमार्फत साढे ३ अर्ब भुक्तानी

आइतबार, भदौ ३१, २०८०

काठमाडौं - सुन तस्करीमा संलग्न चिनियाँ गिरोहले पछिल्लो साढे दुई वर्षमै क्रिप्टोमार्फत नेपालबाट ३ अर्ब ५५ करोडभन्दा बढी रकम विदेश पठाएको भेटिएको छ ।

सन् २०२१ को सुरुदेखि २०२३ को जुलाईसम्म चिनियाँ सुन तस्करले नेपालबाट अमेरिकी क्रिप्टो करेन्सी ‘यूएसडीटी’ मार्फत २ करोड ६९ लाख ४१ हजार ८ सय ६३ डलर बराबरको भुक्तानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । यसको थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

२०७९ पुस १० मा दुबईबाट भित्रिएको ९ केजी र २०८० असार २९ मा हङकङबाट भित्रिएको करिब ६१ केजी सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करले साढे २ वर्षमा नेपालबाट ३ अर्ब ५५ करोड ६३ लाख २५ हजार बराबर भुक्तानी यूएसडीटीमार्फत गरेको फेला पारेको हो ।

सुन तस्करीलगायत अपराधमा संलग्न अन्तरदेशीय संगठित गिरोहले गरिरहेको यूएसडीटीसहितका क्रिप्टो कारोबारमा सीआईबीले अनुसन्धान गरिरहेको छ । ६१ केजी सुन प्रकरणमा पहिलो चरणको अनुसन्धान प्रतिवेदन सीआईबीले बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।

उक्त प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा विभिन्न सात कसुरमा मुद्दा दायर गर्दै छ । पछिल्लो ११ महिनामै करिब ३ सय ६३ केजी सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका २६ र फरार १८ लाई प्रतिवादी बनाएर सीआईबीले ३ अर्ब ५० करोड बढीको बिगो मागदाबीसहित मुद्दा चलाउन राय दिएको छ ।

सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा सीआईबीले अन्तरदेशीय संगठित आपराधिक समूहले नेपाललाई अखडा बनाएर गरेको क्रिप्टोको अवैध कारोबारको डरलाग्दो चित्र देखाएको छ । पक्राउ परेमध्येका मुख्य तस्कर एलेक्स भनिने याओ फुचेनको मोबाइल र अन्य उपकरणबाट प्राप्त प्रमाणअनुसार उनको क्रिप्टो खातामा आउने रकमभन्दा विदेश पठाएको रकम दोब्बरभन्दा बढी देखिन्छ । सरकारी वकिल कार्यालयमा पेस गरिएको प्रतिवेदनअनुसार एलेक्सको साथबाट बरामद ‘आईफोन–१३ प्रोम्याक्स’ मा भएका विवरण केलाउने क्रममा एन्ट पे, ग्लोब पे, विन पे, पे प्लस र यूएसडीटीबाट भएका क्रिप्टो भुक्तानीको विवरण फेला परेको थियो । त्यसमध्ये यूएसडीटीबाट मात्रै पौने ३ करोड डलरको भुक्तानी गरेको देखिन्छ । त्यस्तै अन्य क्रिप्टोमार्फत यो अवधिमा भारतीय मुद्रा ३० करोड १३ लाख ४७ हजार ८ सय रुपैयाँ बराबरको भुक्तानी क्यूआर कोडमार्फत गरेको सीआईबी प्रतिवेदनमा समेटिएको छ ।

सुन तस्करीमा पक्राउ परेकामध्ये ९ जना विदेशी नागरिक छन् । त्यसमध्ये ५ चिनियाँले काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी लिएको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार