Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ

आइतबार, भदौ ३१, २०८०

तनहुँ  - तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ।

वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज-३ अन्तर्गतको काममा ढिलाइ भएको हो। प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो।


यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ। यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए।

उनले भने, ‘वन मन्त्रालयसँग सम्बन्धित केही समस्या अझै समाधान भएका छैनन्, ऊर्जा मन्त्रालयमार्फत् वन मन्त्रालयमा समस्या समाधानका लागि पठाएका छौँ।’

बिनाअवरोध काम गर्न पाएको भए यो खण्डमा हालसम्म ८५ प्रतिशत काम भइसक्ने उनको भनाइ छ।

उनका अनुसार प्रसारण लाइन निर्माणका लागि ६९ टावरको जग हाल्ने कार्य सकिएको छ। त्यस्तै, ३३ टावर जडान सकिएको छ भने १२ टावरको जग संरक्षण सम्पन्न भएको छ।

त्यस्तै, हालसम्म शून्य दशमलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ। उनका अनुसार एक स्थानमा जग हाल्ने काम भइरहेको छ। उनले भने, ‘प्याकेज-१ र २ सँगै प्याकेज-३ को प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ।’

प्याकेज-३ अन्तर्गत केइसी इन्टरनेसनल भारतले दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको ३६ किलोमिटर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण गरिरहेको छ।

प्रसारण लाइन निर्माण सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ।

प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ। तनहुँतर्फ व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका-६, आँबुखैरेनी गाउँपालिका-६, देवघाट गाउँपालिका-४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ।

निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीनवटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको छ। तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार प्याकेज-१ अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज-२ अन्तर्गत विद्युत्गृह निर्माणमा ४५ प्रतिशत र प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ।

जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्