Nic Ad Nic Ad
Nic Ad Nic Ad

एआईजी थापाको नेतृत्वमा सुल्झिएको एउटा कठोर हत्याकाण्डको सन्देशः कमान्डरहरू तैनाथ छन्

मंगलबार, असोज २, २०८०

काठमाडौंप्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापाले गैरीगाउँ हत्याकाण्ड हुनासाथ अनुसन्धानका निम्ति ५ सदस्यीय समिति गठन गरे।

अपराध अनुसन्धानमा अब्बल रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो। राठौर उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख पनि हुन्।

हत्याकाण्डको तत्काल चिरफार गर्न सक्ने नेतृत्वसहित ५ सदस्यीय समिति गठन भयो जसमा काठमाडौं जिल्ला प्रहरी परिसरका उपरिक्षक (एसपी) कुमोद ढुंगेलको समन्वय पनि गहिरो थियो।

समितिमा परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी, बानेश्वर बृत्तका प्रहरी इन्सपेक्टर वीरेन्द्र केसी थिए। यो टोलीले समन्वयात्मक सहयोगसहित ३६ घन्टाभित्र हत्या अभियुक्तलाई फेला पार्न सफल भयो।

साइको हत्या अभियुक्त जस्तो लाग्ने व्यक्तिलाई पक्राउ गर्नका लागि सीसीटिभी फुटेजले सहयोग गरेको थियो, प्रहरी उच्च स्रोतले भन्यो।

काठमाडौं उपत्यका हाँक्ने योग्य प्रहरी अधिकारी भएका कारण पनि यस प्रकरणले लामो विवाद र हल्ला हुन पाएन।

गैरीगाउँस्थित दिव्या सःमिलमा चार जनाको हत्या गर्ने अभियुक्त सञ्जय भण्डारी मानसिक रुपमा नै विक्षिप्त रहेको र बोल्न पनि नसक्ने हुँदा दोभाषेको समेत प्रयोग गरेर चाँडो भन्दा चाँडो रिजल्ट दिन प्रहरी अधिकारी सफल भए।

उक्त सःमिलमा काम गर्ने नवीन राईसँगको रिसिईवीका कारण हत्या गरेको भण्डारीले बयान दिएका थिए। भण्डारीको खास दुश्मनी धनकुटा भिरगाउँ गाउँपालिका२ घर भएका १९ वर्षीय नविन राईसँग रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलाएको थियो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका९ घर भएका २३ वर्षीय भण्डारीसँग उक्त हत्याकाण्डका विषयमा सबै कोणको बयान सकिएपछि प्रहरीले सार्वजनिक गरेको थियो। नक्सालमा ब्रेल लिपिको माध्यमबाट भण्डारीले १२ कक्षासम्मको पढाई पूरा गरेका छन्।

राईको हत्यापछि भण्डारीले ७६ वर्षीया सुभद्रा भुजेल, उनका छोरा ५६ वर्षीय कुमार भुजेल र कुमारकी पत्नी ५० वर्षीया अम्बिकाको हत्या गरेका थिए।

हत्या गरेर उनले शुभद्राको शव सःमिलको गोदाम छेउमा, कुमारको शव शौचालय छेउमा र अम्बिकाको शव कल नजिकै घिसार्दै लगेर व्यवस्थापन गरेको आरोपितले स्वीकारेका छन् ।

राति ९ बजेर ४५ मिनेट र १० बजेर १५ मिनेटमा चार जनाको हत्या गरेपछि भण्डारी काँडाघारीस्थित दिदी भिनाजुको घर पुगेका थिए।

यो साधारण हत्याकाण्ड भन्न नै नमिल्ने प्रकृतिको रहेछ। निक्कै योजना गरेर र बँच्नका लागि हत्या अभियुक्त भण्डारीले चलाखी गरेको पनि पाइयो, प्रहरीका एक पूर्व उच्च अधिकारी भन्छन्,‘संगठनका राम्रा र अपराध अनुसन्धानमा माहिर टोली भएका कारण नै समयमा सुल्झियो।

उपत्यका प्रमुखमा एआईजी थापा (कार्यबाहक आईजी), अपराध अनुसन्धान महाशाखामा एसएसपी राठौर, काठमाडौं जिल्ला परिसरका कार्यबाहक प्रमुख एसपी ढुंगेल र टिमले साइको हत्या अभियुक्त पक्राउ गरी दबाबबिना नै काम गर्न सकिने गतिलो उदाहरण पेस गरेका छन्।

यो घटनामा प्रहरीले निकालेको रिजल्टले अपराध र त्यस्तो कर्ममा सक्रिय रहेकाहरूलाई कमान्डरहरू तैनाथ छन् भन्ने सन्देश दिएको छ। प्रहरीसँग अझ स्रोत र साधनसहितको सुविधा हुने हो भने अपराध गर्ने अभियुक्तलाई समात्न समय नलाग्ने पनि सन्देश दिएको प्रहरी उच्च अधिकारी बताउँछन्।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्