Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपति क्षेत्रको पार्किङ शुल्क नलाग्ने

मंगलबार, असोज २, २०८०

काठमाडौं - पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो ।

पार्किङ शुल्क विवादसँगै बक्यौता रकमका कारण पशुपति क्षेत्रभित्रको बसपार्क निःशुल्क गरिएको छ।

पार्किङ व्यवस्थापनको जिम्मा पाएको तत्त्व इन्भेस्टमेन्ट प्रा.लि.ले ४१ लाख बढी बक्यौता रकम भुक्तान नगरेको र पार्किङ शुल्कमा समेत अनियमितता गरेको भन्दै पशुपति क्षेत्र विकास कोषले उक्त कम्पनीसँगको सम्झौता तोडेको हो ।

पार्किङ व्यवस्थापनमा व्यापक अनियमितता देखिएपछि टेन्डरवाला कम्पनीसँग सम्झौता रद्द गरी तत्कालका लागि पार्किङ निःशुल्क गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उक्त बसपार्कमा अनियमितता मात्र नभई कानुनको समेत गम्भीर उल्लङ्घन देखिएको मन्त्री किरातीको भनाइ छ ।

‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लङ्घन देखिएकाले सम्झौता भङ्ग गरिसकिएको छ । अर्को प्रक्रिया पुरा नहुँदासम्म पार्किङ निःशुल्क गरिएको जानकारी गराइन्छ,’ मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

कोषले गत २१ गते नै तत्त्व इन्भेस्टमेन्टसँगको सम्झौता तोडेको हो । कोष र कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि ५ वर्षको सम्झौता भएको थियो । तर, सम्झौता अनुसारको शुल्क नियमित रूपमा भुक्तान नगरिएपछि ठेक्का रद्द गरिएको कोषले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्