Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राजिलका राष्ट्रपति लुलाद्वारा युक्रेनमा शान्ति स्थापनाका लागि ‘वार्ता’ गर्न आग्रह

मंगलबार, असोज २, २०८०

संयुक्त राष्ट्रसङ्घ– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले युक्रेनमा जारी युद्ध अन्त्यका लागि वार्ता गर्न आग्रह गरेका छन् ।

उनले ‘वार्तामा आधारित नभए कुनै पनि समाधान स्थायी हुन नसक्ने’ बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै लुलाले भने, “वार्ताका लागि ठाउँ सिर्जना गर्न काम गर्नुपर्छ भनेर मैले दोहो¥याएको छु ।” उनले थपे, “हतियारमा धेरै लगानी गरिएको छ र विकासमा निकै कम लगानी गरिएको छ ।”

युक्रेनमाथि रूसको आक्रमणलाई लिएर रूसप्रति नरम भएको आरोप खेपिरहेका लुलाले महासभाको साइडलाइनमा आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नेछन् । जेलेन्स्कीले यसअघि गत मे महिनामा जापानमा भएको जी–७ शिखर सम्मेलनमा लुलासँग भेटवार्ता गर्न चाहेका थिए । 

जेलेन्स्की र लुलाबीच सम्बन्ध तनावपूर्ण छ । उनले युक्रेनमा युद्ध हुनुमा ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्तै केही हदसम्म जेलेन्स्की पनि जिम्मेवार’ रहेको बताउँदै आएका छन् । उनले रूसमाथि प्रतिबन्ध लगाउन वा युक्रेनलाई हतियार आपूर्ति गर्न पश्चिमा राष्ट्रहरूसँग सामेल हुन अस्वीकार गरेका छन् ।

लुलाले चीन, भारत र इन्डोनेसियालगायत अन्य ‘तटस्थ’ मुलुकसँग मिलेर ब्राजिललाई द्वन्द्वमा सम्भावित मध्यस्थकर्ताका रूपमा स्थापित गर्ने प्रयास गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २२:०७
प्रतिक्रिया दिनुहोस्