रगतको बाछिटाबाट लेखिएको संविधान र गणतन्त्रः नेता, तिनका सन्तानको कमारो बनेपछि...
अमेरिका उत्रिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छेउमा रहेकी छोरी गंगा दाहालले बोकेको ब्यागको मूल्य सामाजिक सञ्जालमा चर्चामा आयो। उनले ७७ हजार रुपैंया पर्ने ब्याग बोकेकी थिइन्। प्रयोग गर्ने अन्य भौतिक सामानका तथ्यांक र मुल्यको खोजी गरिरहन आवश्यक परेन। अनुमान गर्न सकिन्छ।
यो उदाहरण पेश गर्दै गर्दा काठमाडौंमा गणतन्त्रपछि आएको नयाँ संविधानको अठौं बार्षिकोत्सव एकातिर र शिक्षक शिक्षिकाको विरोधको ठूलो जुलुस माइतिघर मण्डलादेखि बानेश्वरसम्म छपक्कै थियो। यो संविधान र गणतन्त्रले आखिर केही तलब, समान जागिरको सवाल उठाएका शिक्षक न्याय खोजीरहेका छन्। तर, भौतिकवादी चिन्तन र समाजवादी यात्रामा हिँडेका प्रधानमन्त्री, उनकी पुत्रीचाहिँ पुँजीवादी व्यक्तित्व झल्काइरहेको देख्दा गणतन्त्र र संविधान कसका लागि आएछ?
भनिन्छ– एक अपराधी कार्यकारी प्रमुखलाई अभियोग लगाउन असफल हुँदा सत्तामा बस्नेहरू कानून भन्दामाथि छन् भन्ने सन्देश जान्छ। रगतले लतपतिएको बिगतबाट उठेर नयाँ व्यवस्थामा आएर संविधानको आठौं संस्करण दिवसका दिन यहि प्रसङ्गसँग निक्कै तालमेल हुने घटनाक्रम विकास भइसकेका छन्, चर्चा भइसकेका छन्। आलोचनाको ठूलो थुप्रो लागिसकेको थियो।
यो गणतन्त्रको जस माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले नै ज्यादा लिने गरेका छन्। दुखका साथ भन्नुपर्छ कास्कीको ढिकुरपोखरीमा ढिँडो पनि खान मुस्किल भएको राजनीतिक सादगी जीवनको उत्तरार्ध भड्किलो जीवनशैलीमा बित्दा प्रत्येक दिन हजारौं युवाले भविष्यको खोजी गर्न देश छाडेको दृश्यले पोल्छ कि पोल्दैन?
रगतको बाछिटाबाट गणतन्त्र र नयाँ संविधानको अलापमा बाँचेका माओवादी नेतृत्वका अधिराजकुमारहरु सुनौला दैनिकीसँग जोडिएका छन्। सुन तस्करीका मुख्य नाइकेसँग जोडिएका यी अधिराजकुमारहरुलाई कानुन लाग्दैन, लागि हाल्यो भने पनि कारबाहीको प्रक्रिया अगाडि बढ्दैन। रोकिन्छ।
ठ्याक्क सुरुमा भनेको उक्ति यहाँनेर जोड्न सकिन्छ। कि, एक अपराधी कार्यकारी प्रमुखलाई अभियोग लगाउन असफल हुँदा सत्तामा बस्नेहरू कानून भन्दामाथि छन् भन्ने सन्देश जान्छ। प्रधानमन्त्री प्रचण्डले आफ्ना पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरासहित उनका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनःका छोरा दीपेश, उपमहासचिव बर्षमान पुनःका भाईलाई किन जोगाइरहेका छन्? के, यो संविधान र कानुन यी नवयुवराजहरुको अधिनस्थका लागि बनाइएको थियो? अहिले ठ्याक्क यहि सन्देश गइरहेको छ।
गणतन्त्र र नयाँ संविधानको बखान जस–जसले धेरै गरेका छन् तिनले यो व्यवस्थाभन्दा माथि आफू रहेको भन्ने ठानेका छन् र जनताको सन्तानलाई विदेशीको कमारो बनाएका छन्। संविधान त उनीहरूको कमारो बनिसक्यो, जनतालाई दासयुगमा प्रवेश गराइसके।
वाक स्वतन्त्रता मात्र लोकतन्त्र होइन। अहिलेको स्थितिलाई हेर्ने हो भने राजनीतिक फोहोरको थुप्रोमुनी हाम्रो सामाजिक आचारसंहिताको पतन भइसकेको छ। राजनीतिक र सामाजिक पतन हुँदा समयको अन्तरालमा समृद्धि वा प्रगतिका विषय एउटा दन्त्य कथाभन्दा केही हुँदैन। अहिले राजनीतिक वृत्तले लगाइरहेको नयाँ संविधान, यसको उत्सव र गणतन्त्र मात्र दन्त्यकथाको राजा र परी जस्तो लाग्छ। व्यवाहारतः यसको रसपान, जलपान वा बलात् मिच्याइँ नेता, तिनका सन्तानबाट नै भएको छ।
संविधान दिवसको शुभकामना कसलाई दिने? सुनमा लतपतिएका गणतन्त्रवादीका उत्तराधिकारीहरुलाई वा परिवार पाल्नकै लागि खाडीको ५५ डिग्रिमा मुटु फुट्नेगरी रगत पसिना बगाउने त्यो युवालाई? या सरकारले तोकेको न्युनतम ज्यालाले परिवारलाई एक छाक पेटभरी खुवाउन नसक्ने ति मजदुर र तिनका परिवारलाई? या सत्तामा पुगेपछि लाखौं करोडौं खर्च गर्न जाने राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री र सांसदलाई या उपचार खर्च नभएर बाटोमा भिक मागेर उपचार गर्न बाध्य भएकालाई? कसलाई दिने शुभकामना? को हो संविधान दिवसको शुभकामनाको वास्तविक उत्तराधिकारी?
अतः संगीन प्रश्नहरू नगरी संविधान दिवसको औचित्य हुनेछैन। यो संविधान, व्यवस्था सरकारले जोगाएका मिटरब्याजीकहाँ बाउबाजेको पुँजी धितो राखेर जीन्दगीभरी खाडीमा पसिना बगाउँदा पनि मृत्युवरण गर्नेका लागि आएको हो कि होइन? अथवा यो मात्र गणतन्त्रका नाममा अपराधको दुनियाँभित्र छिरेका राजनीतिक आवरणका अभियुक्तहरुको सस्तो खेलौनाका लागि हो? यसको उत्तर जनताले खोज्नेछन्। खोज्न थालेका छन्।