नेभिगेशन
मनोरञ्जन

बोर्डको 'सर्वोत्कृष्ट फिल्म घोषणा' नगर्ने निर्णयविरुद्ध अदालतमा रिट दायर

काठमाडौँ– राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको छ ।

फिल्म ‘प्रकाश’का लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले संयुक्त रुपमा बिहीबार उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका हुन् ।

चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर जुरीबाट भएको सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णयको सक्कल प्रति झिकाउन र त्यसको कारण देखाउन भन्दै उनीहरुले परमादेशसमेत रिटमा माग गरिएको छ ।

अदालतले शुक्रबार (भोलि) बिहान ११ बजे दुबै पक्षलाई छलफलमा बोलाएको निवेदकतर्फका कानुन व्यवसायी रौनकराज अर्यालले जानकारी दिए ।

लेखक तथा रिट निवेदक सुवेदीले भने, ‘फिल्म प्रकाशले अवार्ड पाउनुपर्छ भनेर रिट दायर गरेका होइनौँ। सर्वोत्कृष्ट विधामा किन फिल्मलाई पुरस्कृत गरिएन भन्ने कारण सार्वजनिक गर्न हामीले माग गरेका हौँ ।’

गत भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । यसबारे एक जना जुरी सदस्यले फिल्म  ‘प्रकाश’लाई सिफारिस गरिएपनि बोर्ड नेतृत्वले नमानेका कारण सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको बताएका थिए ।

खासगरी सत्तारुढ माओवादी दललाई उक्त फिल्ममा नकारात्मक चित्रण गरिएकाले राजनीतिक हस्तक्षेपमा उक्त विधामा पुरस्कार नबाँडिएको भन्ने विषयले फिल्म क्षेत्रमा चर्चा चलेको ती जुरी सदस्यले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन