Nic Ad Nic Ad
Nic Ad Nic Ad

विवाद चर्किएपछि भारतद्वारा क्यानेडियनलाई भिसामा रोक

शुक्रबार, असोज ५, २०८०

नयाँदिल्ली - भारतले क्यानडाका नागरिकका लागि भिसा सेवा बन्द गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले असुरक्षाका कारण क्यानडामा रहेको भिसा एप्लिकेसन सेन्टर बन्द गरिएको बताएका छन् ।

क्यानडाले हरदीप सिंह निज्जरको मृत्यु र भारतबीच एउटा “विश्वसनीय” सम्बन्ध पहिचान गरेको बताएपछि यस साता दुई देशबीच तनाव चर्किएको छ।

क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र कार्यालयमाथि लगातार धम्की आइरहेकाले भिसाको कार्य बन्द गर्नुपरेको उनको भनाइ छ । ‘धम्कीका कारण भारतीय कूटनीतिज्ञले आफ्नो काम गर्ने स्थिति छैन,’ पत्रकार सम्मेलनमा बागचीले भने । क्यानडामा भारतको उच्च आयोग र वाणिज्य दूतावासले खतराको सामना गरिरहेको समेत उनले बताए ।

क्यानडामा भारतीय नागरिकलाई असुरक्षा रहेको भन्दै सतर्क रहन एक दिनअघि मात्रै एड्भाइजरी जारी गरिएको थियो । क्यानडा सरकारले त्यसलाई अस्वीकार गर्दै कुनै असुरक्षा नरहेको भन्दै प्रतिवाद गरेको थियो । त्यसअघि क्यानडा सरकारले पनि आफ्ना नगरिकलाई भारतको जम्मु–कश्मीर तथा नर्थ इस्टका क्षेत्रमा असुरक्षा रहेको भन्दै त्यता भ्रमण नगर्न एड्भाइजरी जारी गरेको थियो । पत्रकार सम्मेलनमा बागचीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएको आरोपलाई आधारहीन र राजनीति प्रेरित भनेका छन् । उनले अहिलेसम्म क्यानडा सरकारले त्यस मामिलामा कुनै पनि सबुत प्रमाण भारत सरकारलाई उपलब्ध नगराएको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्