कांग्रेस बैठक : सरकारमा बस्नुको औचित्यमाथि प्रश्नै प्रश्न
काठमाडाैं - नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टी सरकारमा बस्नुको औचित्यमाथि प्रश्न उठाएका छन्।
कांग्रेसले जनताको विश्वासभन्दा सरकारलाई प्राथमिकता दिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
केन्द्रीय समितिको आइतबार बसेको बैठकमा ३२ जना सदस्यले बोलेका छन। बैठकमा प्रदीप पौडेल, कर्णबहादुर बुढा, रामजनम चौधरी, रंगमती शाही, हरिशरण नेपाली, राजीव ढुंगानालगायतले पार्टी नेतृत्वले सरकारलाई महत्त्व दिँदा कांग्रेसले जनताको विश्वास गुमाउँदै गएको धारणा राखे। उनीहरूले पार्टी नेतृत्वलाई सरकार ठुलो कि जनताको विश्वास भन्ने प्रश्न पनि गरे।
पौडेलले नेपाली कांग्रेसबाट सरकारमा मन्त्री बनेकाले पनि जनताको विश्वासअनुसार काम गर्न नसकेको गुनासो गरे। ‘सरकारले एउटा पनि राम्रो काम गरेको छैन। हामी जनतामाझ जाँदा सरकारले राम्रो काम गरेको छ भनेर कसरी भन्ने?’ उनले भने। सरकारले जनताको विश्वास जित्न नसकेको उनको भनाइ थियो।
अर्का केन्द्रीय सदस्य ढुंगानाले सरकारमा सहभागी भएको कांग्रेसले जसभन्दा अपजस भोगिरहेको टिप्पणी गरे। सरकारमा कांग्रेस बस्नुको औचित्यमाथि गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए।
‘हुन त, सरकारको नेतृत्व कांगे्रसले गरेको छैन तर जनताले कांग्रेसबाट धेरै आशा गरेका छन्’, ढुंगानाले भने, ‘यो सरकारले राम्रो काम गर्न सकेन। त्यसैले अब पार्टीले सरकारमा बस्नु औचित्यमाथि गम्भीर रूपमा समीक्षा गर्नुपर्छ।’
सरकारको नेतृत्वले कांग्रेसले नगरे पनि अपजसको भारी भने कांग्रेसको टाउकोमा आएको उनले बताए। उनले मुलुकको अर्थतन्त्र पनि सुधारको बाटोमा लाग्नुको साटो झनै डामाडोलको अवस्थामा पुगेको बताए।
अर्का केन्द्रीय सदस्य बुढाले पनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै यस विषयमा पार्टीले सचेत गराउनुपर्ने बताए। पार्टीबाट सरकारमा गएकालाई पनि नेतृत्वले राम्रो काम गर्न निर्देशन दिनुपर्ने सुझाए। सरकारको नेतृत्व गरिरहेको माओवादीले गलत काम गरे पनि त्यसको अपजस नेपाली कांग्रेसले लिनुपर्ने अवस्था आएको उनको भनाइ थियो।
केन्द्रीय सदस्य रामजनम चौधरीले कांग्रेस केन्द्र र प्रदेश सरकारमा सहभागी भए पनि कार्यकर्ताहरू उत्साहित नभएको टिप्पणी गरे। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।