Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसियन खेलकुद : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

बुधबार, असोज १०, २०८०

काठमाडौं - एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ ।

चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा अन्तरगतको समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको हो।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।

नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो।

मंगोलियालाई कम स्कोरमा रोक्न नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले समान २ विकेट लिए। त्यस्तै सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो।

नेपालका कुशल मल्लले ५० बलमा अविजित रहँदै १ सय ३७ रन बनाउँदा १२ छक्का र ८ चौका हिर्काए । मल्लले ३४ बलमै शतक पूरा गर्दै विश्व कीर्तिमान कायम गरे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र रोमानियाका विक्रमासेकाराले ३५ बलमा शतक पूरा गरेका थिए ।

यस्तै कप्तान रोहित पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतमा ६१ रन बनाए ।

यता दिपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन जोड्दा ८ छक्का प्रहार गरे । उनले ९ बलमै अर्धशतक पूरा गरे । उनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने विश्व कीर्तिमान बनाए ।

दिपेन्द्रले भारतीय पूर्व क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका छन् । यसअघि युवराजले इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक पूरा गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्