साफ यू–१९ च्याम्पियनसिप : नेपाल लगातार तेस्रोपटक फाइनल खेल्नबाट वञ्चित
काठमाडाैं - घरेलु टोली नेपालको यात्रा सेमिफाइनलमा समाप्त हुँदा भारत र पाकिस्तानले साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएका छन् ।
बुधबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भयो । पाकिस्तानले सडनडेथमा भुटानलाई हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको हो । फाइनल खेल शनिबार हुनेछ ।
पेनाल्टीमा भारतलाई जित दिलाउन अर्जुन सिंह, ग्वाम्सर गोरारी र अन्तिम पेनाल्टी प्रहार गरेका मानङलेनथाङ किप्गेनले गोल गरे । नेपालका गोलकिपर तथा कप्तान जियारथ शेखले भारतका दिनेश सिंह सौबम र रिकी मित्तलको पेनाल्टी रोकेका थिए । नेपालको तर्फबाट पेनाल्टीमा आश्विन घोडासैनी र कुशल देउवाले मात्रै गोल गरे । दोस्रो नम्बरमा पेनाल्टी प्रहार गर्न गएका प्रशान्त लक्षमको प्रहार भारतीय गोलकिपर लियोनल डारियलले रोकेका थिए । चौथो नम्बरमा आएका लक्षु थापाको प्रहार बारमा लाग्दा विक्रम तामाङको प्रहार अकासिएको थियो ।
पाँचौँ संस्करण जारी रहँदा नेपाल र भारत समान दुईपटकका च्याम्पियन हुन् । नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको छ । भारतले त्यसपछिका दुई उपाधि जितेको हो । यसपटक भारत उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । नेपाल भने लगातार तेस्रोपटक फाइनल पुग्नबाट असफल भएको छ ।
नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले मिहिनेत गर्दागर्दै पेनाल्टीमा असफल भएको बताए ।