राजस्व छलीका मोबाइल र चोरीको गाडीसहित एक जना पक्राउ
काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजस्व छलीका विभिन्न मोबाइल तथा चोरीको गाडीसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका–६ घर भई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने २९ वर्षीय मिलन श्रेष्ठ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।
उनका अनुसार काठमाडौँ महानगरपालिका–२२ न्यूरोड क्षेत्रमा राजस्व छलीका विभिन्न मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा उक्त क्षेत्रमा खटिएको विशेष प्रहरी टोलीले ८० थान मोबाइल र बा१९च ५०९४ नंको सेतो रङ्गको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसहित पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
पक्राउ परेका व्यक्ति तथा सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।