नेभिगेशन
समाज विविध

स्थानीय तहका कर्मचारीको आन्दोलन आज पनि जारी

काठमाडाैं-  स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन्। सरकारले संघीय संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। 

उनीहरूले साेमवार देखि काठमाडौंको माइतीघर मण्डलमा विभिन्न मागसहित धर्ना दिएका छन्। आन्दोलनमा सहभागी हुन देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौं बोलाइएकाे संघर्ष समितिले जनाएकाे छ।

स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गरेका छन्। त्यसैगरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, विना सहमति ७ सय ५३ वटै स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ।

समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई पनि निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत दिनुपर्ने माग संघर्ष समितिको छ। ​

त्यसैगरी जुनसुकै तहमा वहाल रहेका कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग अघि सारेका छन्।

भोलि देशभरीका स्थानीय तहमा हातमा कालोपट्टी बाँधेर काम गर्ने र भोलि नै सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि संघर्ष समितिले घोषणा गरेको छ। ​

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध