न्यायका लागि रिगलको आममाफीविरुद्ध भारतीको अनशन, आखिर चेतनको वास्तविकता के थियो?
काठमाडौं– व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद पाएका बाँकेका योगराज ढकाल ‘रिगल’को आममाफीविरुद्ध भारती मानन्धरले आमरण अनशन सुरु गरेकी छन्। भारती रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी हुन्।
भारतीले काठमाडौंको माइतिघर मण्डलामा आमरण अनशन सुरु गरेकी हुन्। उनले त्रास बढेको, अन्यायमा परेको भनी आममाफी फिर्ताका लागि सरकारलाई पटक–पटक आग्रह गरेकी थिइन्।
राज्यले मानव हत्या गर्नेलाई आममाफी दिने सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल पनि विवादमा तानिएका छन्। रिगल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा आवद्ध छन्।
यहि प्रकरणमा सरकारको तिव्र आलोचना भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा नै विरोध जनाएको थियो भने राष्ट्रपति पौडेललाई भेटेर ज्ञापन पनि बुझाएको थियो।
यति मात्र नभएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारको कडा आलोचना गरेका थिए।
पारिवारिक, मानवीय संवेदनाका हिसाबले भारतीको अनशन न्यायका लागि भए पनि चेतनको विगत पनि विवादीत रहेको थियो। चेतन पहिला रिगलको समूहमा नै रहेर काम गरेका व्यक्ति हुन्। पछि उनले अलग्गै समूह खडा गरेपछि रिगलको समूहसँग वैमनश्यता भएको थियो।
बाँकेमा गुन्डागर्दीको दुई समूह खडा भएपछि बेलामौका झडप समेत हुने गरेको थियो। एक स्थानीय भन्छन्,‘त्यहि रिसिईबीका कारण रिगलको समूहले चेतनमाथि आक्रमण गरेको थियो। उनको हत्या गरिदियो।’
त्यसो त लामो समयसम्म चेतन हत्यामा संलग्न रहेका फरार भएका थिए। प्रहरीले ०७७ को अन्तिममा दुई जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको थियो।
२०७२ सालमा चेतन मानन्धरको धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो। नेपालगन्ज उपमहानगरपालिका ५ का ३० बर्षिय हरि वली र सोही ठाउँका ३१ बर्षिय विवाद पाठकलाई बाँके प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो।
वली र पाठकलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो। त्यसलगत्तै उनीहरु दुबैजना फरार रहेका थिए । पुरानो रिसिईबीका कारण चेतन मानन्धरको नेपालगन्ज धम्बोझी स्थित स्वष्टिक कटेजनिर धारिलो हतियार (खुडा) प्रहार गरि हत्या गरिएको थियो।
प्रहरीका अनुसार चेतनको घटनामा १५ जना संलग्न थिए। उक्त घटनाबारे अनुसन्धान गरेका प्रहरीका एक पूर्वअधिकारी भन्छन्,‘यो एउटा ग्याङले अर्कोमाथि गरेको आक्रमण परिणाम थियो। जे भए पनि व्यक्ति हत्या क्षम्य हुन्न। तर, गुन्डागर्दीको नतिजा थियो।’