दोलखा सुन तस्करी प्रकरण : स्वयम्भूबाट थप एक चिनियाँ नागरिक पक्राउ
काठमाडौँ– दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले काठमाडौँको स्वयम्भूबाट आज थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको सिचुवानका तासी दावा भनिने आगर लामा रहेको सिआइबी का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार दोलखा सुन तस्करीमा निजको संलग्नताको अनुसन्धानका लागि निजलाई आज स्वयम्भूबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको सिआइबीले जनाएको छ । यस अघि सीआइबीले काठमाडौँका विभिन्न स्थानबाट एक जना चिनियाँ नागरिकसहित तीन जना नेपालीलाई पक्राउ गरेको थियो ।
यही असोज ११ पहिलोपटक दोलखाको सिङ्गटीमा ४ किलो सुन बरामद गरिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिङ्गटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।