Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

शुक्रबार, असोज १९, २०८०

 वासिङ्टन - अमेरिकी राष्ट्रपति जाे बाइडेन प्रशासनले मेक्सिकोसँगको सीमामा थप पर्खाल लगाउने भएकाे छ।

मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले जनाएको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ ।

अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्याली खण्डमा पर्खालको नयाँ खण्ड निर्माण गरिने मन्त्री मेयरकासले बताए। यो आर्थिक वर्षमा अमेरिकामा दुई लाख ४५ हजारभन्दा धेरै व्यक्ति अवैधरूपमा प्रवेश गरेको तथ्याङ्क छ । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को जनवरीमा पदभार ग्रहण गरेकै दिन एक घोषणा गर्दै सीमामा पर्खाल निर्माण गर्न करदाताको थप रकम नछुट्याइने घोषणा समेत गरेका थिए।

बाइडेनका लागि अवैध आप्रवासन एउटा प्रमुख राजनीतिक मुद्दा बनेको छ र विपक्षी रिपब्लिकनहरूले उनीमाथि सीमा नीतिमा ढिलासुस्ती गरेको आरोप लगाउँदै आएका छन् ।

सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका पूर्व राष्ट्रपति ट्रम्पले यो कदमबाट आफू सही रहेको देखाएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्