रिगलराजका ‘रामचन्द्र’
काठमाडौं– सरकारले गरेको विवादीत निर्णयलाई फिर्ता पठाउन सक्ने अधिकार हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकाल नामका गुन्डा नाइके रिगललाई आममाफी दिने सिफारिसमा हस्ताक्षर दच्काएपछि राजनीतिमा नै फरक परिदृश्य देखा परेको छ।
दिनदहाडै खुँडा हानेर बाँकेको नेपालगञ्जमा चेतन मानन्धरको हत्या गर्ने रिगलको आममाफी क्षम्य नहुने प्रतिनिधि सभामा विभिन्न दलका नेताले टिप्पणी गरे भने यो विषयमा सर्वोच्च अदालतले पनि कारण देखाऊ आदेश जारी गरिसकेको छ।
न्यायको माग गरी चेतनपत्नी भारती मानन्धर निरन्तर अनशनलगायतको आन्दोलन घोषणा गरी काठमाडौंमा छिन्। यो विषयले सर्वाधिक विवादमा तानिएका छन्, राष्ट्रपति रामचन्द्र पौडेल।
पौडेल पार्टीभन्दा माथि उठ्न नसकेको टिप्पणी भएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धन जोगाउनका लागि हत्याअभियुक्त छाड्ने निर्णय गरेको आरोप लागेको छ।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सदनमा प्रश्न गरेका छन्,‘दिनदहाडै खुँडा हानी मान्छे मार्नेलाई आममाफी दिनुपर्ने त्यस्तो के आई लाग्यो? अनि राष्ट्रपतिले विचार गर्नुपर्दैन?’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सदनमा यस विषयमा प्रश्न गरेका थिए। प्रतिपक्षीलगायत कतिपय सत्ता पक्षका नेताले नै यो निर्णयको आलोचना गरेका छन्। यद्यपि, अदालतलको आदेशले यो विषय किनारा लाग्ने निश्चितप्रायः भए पनि राष्ट्रपति पौडेलचाहिँ विवादको कसीबाट बाहिर आउने स्थिति तत्काल देखिँदैन।
तनहुँ–१ मा पुगेर निष्पक्ष हुनुपर्ने राष्ट्रपति पौडेलले निर्वाचन जिताएको भनेर धन्यवाद दिए, यता पार्टी कार्यकर्ताका रुपमा रिगल डनलाई आममाफी दिनु गलत भएको बताइन्छ। एक नेता भन्छन्,‘अरु राष्ट्रपतिमाथि प्रश्न उठाउनेले आफूचाहिँ सामान्य कार्यकर्ताको तहमा उत्रिएर बोल्न हुँदैन, यसले राष्ट्रपति पदको गरिमा गिराउँछ।’
अहिलेको स्थितिमा राज्य बेथिति र कानुनविपरित अब्यवाहारिक काममा मात्र अल्झिएको देखिन्छ। यस्तो स्थितिलाई चित्रण गर्दै राष्ट्रपति पौडेलमाथि ‘रिगलराजका रामचन्द्र’ भन्ने ट्याग लागेको छ।