Nic Ad Nic Ad
Nic Ad Nic Ad
१९औँ एसियाली खेलकुद

एसियाली खेलकुद : नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

शनिबार, असोज २०, २०८०

काठमाडौँ- चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् ।

आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् ।

योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्