इजरायलमा युद्ध सुरु : गाजा क्षेत्रमा रहेका नेपालीहरू पनि घाइते
- विष्णु पोखरेल, बीबीसी न्यूज नेपाली
प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ।
शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ । सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो ।
त्यस क्रममा हालसम्म ४० जना इजरेली र केही प्यालेस्टिनीहरू मारिएको खबर आएको छ ।
इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीलाई बताएको छ ।
इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” भन्ने विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताए ।
उनले भने, “हामी त्यो विवरण सही हो कि होइन र नेपालीको अवस्था के कस्तो छ भनेर बुझिरहेका छौँ। स्थिति अझै सामान्य नभएकाले यकिन कुराहरू आइसकेको छैन ।”
कतिपय सञ्चारमाध्यमहरूले नौ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका छन् ।
यद्यपि अहिले जेरुसेलममा रहेका गैर आवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारीले ‘१७ जना नेपालीहरू कार्यरत रहेको कृषि फर्ममा आक्रमण भएको र ९ जना घाइते भए पनि बन्धक भने कोही पनि नभएको बुझिएको’ बीबीसीलाई बताए ।
त्यसबारे बुझ्दा नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तै खबर आएको तर “स्रोतहरू सीमित भएकाले” पुष्टि गर्न नसकेको जानकारी दिएको छ।
इजरेलमा नेपालीहरू घाइते भएको र बन्धक बनाइएको भन्ने विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका बीबीसीले थाहा पाएको छ।
उक्त बैठकपछि मन्त्रालयले आधिकारिक विवरण र जानकारी सार्वजिन गर्ने अपेक्षा गरिएको छ ।
हमलामा पर्ने नेपाली को हुन् ?
विभिन्न विवरणमा जनाइए अनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरेलबीच भएको सरकार(सरकारबीच (जीटुजी) सम्झौता अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन् ।
भण्डारीका अनुसार अहिले त्यहाँ अहिले करिब आठ सय जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ ।
नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन् । नेपाली कामदारहरू कार्यरत रहेको गाजा क्षेत्रको कृषि फर्ममा रकेट प्रहार हुँदा उनीहरू घाइते भएको बताइएको छ ।
उक्त फर्ममा कुल १७ जना नेपाली कार्यरत रहेकोमा नौ जना घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको खबर आएको छ।
त्यस क्षेत्रमा रहेका नेपालीहरूलाई अहिले सुरक्षित स्थलमा राखिएको र इजरेली सेनाले उनीहरूलाई मोबाइलमा कुरा नगर्न निर्देशन दिएकाले पनि सम्पर्क कठिन भएको अधिकारीहरूले बताएका छन् ।
गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार इजरेलमा विभिन्न क्षेत्रमा काम गर्न गएका नेपालीहरूको सङ्ख्या करिब पाँच हजार रहेको छ । –बीबीसी न्यूज नेपालीबाट साभार