Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाडबाडको समयमा उपभोक्ता आफैँ सजग हुनुपर्ने

आइतबार, असोज २१, २०८०

काठमाडौँ– चाडबाडको समयमा हुने मूल्यवृद्धि, कृत्रिम अभावलगायत विषयमा उपभोक्ता स्वयं सजग बन्नुपर्ने भएको छ । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको चाडपर्वमा बजार अनुगमन र नागरिकको दायित्व विषयक छलफल कार्यक्रका वक्ताहरुले नियामक निकायबाट नियमित अनुगमन हुनुपर्ने बताए । 

मुख्यसचिव वैकुण्ठ अर्यालले उपभोग्य वस्तुमा उपभोक्ता स्वयं सजग हुनुपर्ने बताउँदै उपभोक्ता आफैँ जागरुक नभएसम्म गुणस्तरीय उत्पादन पाउन गाह्रो हुने विचार व्यक्त गरे । उनले प्रयोग गरिने वस्तुको मूल्य, गुणस्तर र उपभोगको म्यादको ख्याल गर्न सुझाए । 

मुख्यसचिव अर्यालले बजार अनुगमन नियमित एवं एकद्वार प्रणालीबाट सञ्चालन गर्न सुरू भएको र स्थानीय प्रशासनलाई बजार अनुगमनमा लाग्न निर्देशन दिइएको बताए । उपभोक्ता जागरण मञ्च नेपालका अध्यक्ष कृष्ण भण्डारीले स्वच्छ बजार विकासमा सबैपक्ष इमान्दार हुनुपर्नेमा जोड दिए । समग्रमा उत्पादक, वितरक, उपभोक्ता र सम्बद्ध सबै इमान्दार हुनुपर्ने उजले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले उपभोक्ताको सुविधाका लागि सरकारको निर्देशनबमोजिम विभिन्न स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरिएकाले त्यहाँबाट लाभ लिन आम उपभोक्तालाई आग्रह गरे । 

पछिल्लो समय बजारमा चिनीको अभाव भएको र त्यसबारे सरकारलाई जानकारी गराइएको बताउँदै शीघ्र चिनी आयात गरेर उपभोक्तालाई आभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले प्रचलित कानुनअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन भइरहेको बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज सिलवालले स्वच्छ र प्रतिस्पर्धी बजार निर्माण गर्न नियमित बजार अनुगमन भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्