अमेरिकाले हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएको छ : राष्ट्रपति बाइडेन
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासका बन्धकहरूलाई मृत्युदण्ड दिने धम्कीलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।
हमासले इजरायलले गाजामा बिना कुनै चेतावनी नागरिकमाथि आक्रमण गरी बन्धक बनाइएकाहरुको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् ।
किर्बीले सीएनएनसँगको कुराकानीमा भने, “यस्तो धम्कीलाई तपाईं हल्का रूपमा लिन सक्नुहुन्न । हमासले आफू सक्षम रहेको देखाइसकेको बर्बरताका कारण तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”
असी वर्षीय बाइडेनले इजरायल–गाजा द्वन्द्वमा इजरायलको समर्थन गरेपनि आइतबारदेखि सार्वजनिक रूपमा केही बोलेका छैनन् । सम्भावित बन्धक सङ्कट र क्षेत्रीय युद्धको खतराप्रति ध्यान दिँदै उहाँले युद्धबारे तत्काल कुनै प्रतिक्रिया नदिएको अनुमान गरिएको छ ।
प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमाथि शनिबार गरेको आक्रमणमा अपहरण गरी गाजा पु¥याइएकामध्ये अमेरिकी पनि रहेको र कम्तीमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको राष्ट्रपति बाइडेनले बताएका छन् ।
बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले मङ्गलबार बिहान इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।
नेतन्याहूसँग उनीहरूले ‘इजरायलका लागि अमेरिकी समर्थन’ र ‘इजरायलमाथिको यस आक्रमणको फाइदा उठाउन अन्य शत्रु शक्तिहरूलाई रोक्न’ प्रयासहरूबारे छलफल गर्नेछन् । इरानले हमासलाई समर्थन गर्दछ र यो कुरा दक्षिणी लेबनानबाट सञ्चालित लडाकू समूह हिजबुल्लाहको हमासलाई सहयोग गर्ने प्रतिवद्धताबाट स्पष्ट हुन्छ ।
बाइडेनले स्थानीय समय अनुसार अपराह्न १ बजे ह्वाइट हाउसबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
इजरायलमा ७५ वर्षको इतिहासकै सबैभन्दा खराब आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९०० नाघेको छ भने गाजाका अधिकारीहरूले इजरायली हवाई आक्रमणमा ७६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
हमासले आफ्नो आक्रमणपछि करिब १५० जनालाई बन्धक बनाएको छ, यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू रहेका छन् । उनीहरूलाई एक सङ्गीत महोत्सवमा पक्राउ गरिएको थियो जहाँ करिब २७० जनाको मृत्यु भएको थियो ।