इजरायलमा ज्यान गुमाएका नेपालीको शव ल्याउने प्रयास भइरहेको छ : परराष्ट्र मन्त्रालय
काठमाडौं- सरकारले गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शत तत्काल ल्याउन प्रयासरत रहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त आक्रमणमा परेर ज्यान गुमाएका शव नेपाल ल्याउन र हराईरहेका विपिन जोशीको खोजकार्य तिब्रताका साथ गरिरहेको बताएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएअनुसार हमासको आक्रणमा परेर घाइते भएका २ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
“अज्ञात अवस्थामा रहनुभएका विपिन जोशीको हकमा निरन्तररुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने काम जारी छ,” उनले भनिन्, “मृतकको शव यथाशक्य छिटो ल्याउन प्रयास भइरहेको छ ।”
शनिबार हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।
प्रवक्ता लम्सालका अनुसार विद्यार्थीहरुलाई लिन आज २५० सिट क्षमताको वाइडबडी जहाज आज त्यतातर्फ जाँदैछ।