परराष्ट्र मन्त्रीसहितको टोली इजरायल प्रस्थान
काठमाडाैं - इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल वायुसेवा निगमकाे जहाज त्यसतर्फ प्रस्थान गरेकाे छ।
दुई सय ७४ सिट क्षमताको नेपाल वायुसेवा निगमकाे एयरबस ३३० वाइडबडी जहाज बुधबार राति इजरायलका लागि प्रस्थान गरेकाे हाे ।
वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उद्धार हुन लागेको हो । परराष्ट्रमन्त्री एनपी साउदसमेत उद्धारमा प्रत्यक्ष सहभागी भएका छन् ।
पहिलो चरणमा बिहीबार दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएकाे छ।
इजरायलबाट तीन सय ५० नेपाली नागरिकले स्वदेश फर्किने चाहना राख्दै विवरण टिपाएकामा पहिलो चरणमा दुई सय ५४ विद्यार्थी ल्याउन लागिएको हो । बिहीबार साँझ उनीहरूलाई स्वदेश ल्याइपुर्याउने तालिका छ ।
बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आफू पनि नागरिकको उद्धारमा प्रत्यक्ष सहभागी हुन लागेको परराष्ट्रमन्त्री साउदले बताए। ‘हामी इजरायलमा गएका हाम्रा युवा विद्यार्थीलाई आत्मविश्वास जगाउन, उहाँहरूको पीडामा ऐक्यबद्धता जनाएर देश फर्काउन चाहन्छौँ । यही उद्देश्यसाथ इजरायल जाँदै छु,’ इजरायल प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री साउदले भने, ‘यो दु:खको समयमा हामी राष्ट्रिय एकता अभिव्यक्त गर्न चाहन्छौँ । यो सबैबाट होस् भन्ने सरकारको अभिप्राय छ।’ परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण पनि उद्धारका लागि इजरायल जाने टोलीमा छन् ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाल एयरलाइन्सको चार्टर विमानबाट पहिलो चरणमा दुई सय ५४ विद्यार्थीलाई स्वदेश फर्काउन लागिएको जानकारी दिइन्। ‘हामी पहिलो चरणमा विद्यार्थी भाइबहिनीलाई उद्धार गर्छौँ । बाँकी रहेकालाई भविष्यमा व्यापारिक उडानबाट सुरक्षित रूपमा स्वदेश फर्काउँछौँ,’ रिजालले भनिन् ।
इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ। हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।