एनआरएनएको भविष्यलाई आकार दिन महिला संयोजकमा अनुजाको उम्मेदवारी, यस्ता छन् प्राथमिकता
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) मा थोरै मात्र महिलाले नेतृत्वमा आउने अपेक्षा कायम गर्छन्। ति मध्य एक हुन् अनुजा प्रधान।
विश्व सम्मेलन तथा ११ औं महाअधिवेशने २०२३–०२५ का लागि नयाँ नेतृत्वमा महिला संयोजकमा अनुजाको दाबी छ। उनले उम्मेदवारी दिने घोषणा गरेकी छन्। कतिपय योजनासहित उनी लम्किएकी छन्।
नेपाल घर चितवन रहेकी अनुजाको लगानी र व्यवसाय हस्पिटालिटी क्षेत्रमा छ। नेपाल र युरोपलगायतका अन्य देशमा समेत व्यवसाय विस्तार गरेकी अनुजा १८ वर्षदेखि बेल्जियममा बसोबास गर्दै आएकी हुन्।
एनआरएनएमा राजनीतिक दलको छायाँ देखिन थालेको परिवेशमा अनुजाले एकताको एजेन्डालाई जोड दिएकी छन्। एनआरएनएको भविष्यलाई आकार दिने र महिलाको सामुहिक शक्तिलाई अगाडि बढाउने समय आएको उनले बताइन्। एनआरएनभित्र महिला सशक्तिकरण, उनीहरुको आवाजलाई सुनिश्चिता र नेतृत्व विकासका लागि अवसरहरु सिर्जना गर्ने आफ्नो एजेन्डा भएको अनुजाले बताइन्।
अनुजा भन्छिन्, ‘म आज एक व्यक्तिको रुपमा होइन, विश्वका हरेक महिलाका लागि शक्तिशाली महिलाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय संयोजकको रुपमा उभिन चाहन्छु।’ मिलेर इतिहास बनाउन, परिवर्तनका लागि मतदान गर्न र सवल एनआरएनए नेतृत्वका लागि मतदान गर्न उनले आह्वान गरेकी छन् ।
सन् २००८ बाट साधारण सदस्यबाट एनआरएनए अभियानमा लागेकी अनुजा पूर्वआईसीसी सदस्य हुन्। यस अवधिमा उनले धेरै आरोह अवरोह बेहोरेकी छन्।
अनुजा सन् २००८ बाट राष्ट्रिय समन्वय परिषद् बेल्जियमकी सदस्य हुन्। उनले सन् २००९–२०११ मा एनआरएनए राष्ट्रिय समन्वय परिषद बेल्जियम सदस्य,सन् २०११–२०१३ मा एनआरएनए राष्ट्रिय समन्वय परिषद बेल्जियम सचिव, सन् २०१६–२०१८ मा एनआरएनए राष्ट्रिय समन्वय परिषद बेल्जियम उपाध्यक्ष र सन् २०१९–२०२१ म एनआरएनए राष्ट्रिय समन्वय परिषद बेल्जियम सदस्य पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी गरेकी छन्।
हालै मात्र एनआरएनए बेल्जियमको अध्यक्षका लागि पनि उनको उम्मेदवारीले ठूलै चर्चा पाएको थियो। प्रत्यासी महिला नै परेकाले सहमतिमा उनले उम्मेद्वारी फिर्ता लिएकी थिइन्। अनुजा भन्छिन्, ‘एकता, सहमति र सहकार्यका लागि म जहिले उदार छु ।’
उनका केही प्रतिबद्धता पनि छन्।
‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र र गर्विलो नारा बोकेर अविछिन्न रुपमा विदेश तथा डायस्पोरामा रहेका नेपालीहरुकाबीच लामो समयदेखि काम गर्ने अवसर पाएको सगर्व भन्ने उनले आफू जिम्मेवारीमा पुगे केही गर्न सक्ने पनि बताएकी छन्।
गैरआवासीय नेपाली संघको अभियानले विश्वभर रहेका नेपाली महिलाहरुलाई समेत एउटै संजालमा समेट्न सफल भएको उनी बताउँछिन्। बढ्दो वैदेशिक रोजगारीसंगै विदेशमा जाने नेपाली महिलाहरुको संख्या बढ्दै गएको छ। वैदेशिक रोजगारीमा रहेका महिलाहरुमा हुने मानव तस्करी तथा घरेलु हिंसा लगायतका समस्याहरु बढ्दै गएको चुनौतिबारे अनुजा जानकार छिन्। यी समस्या समाधान तथा समन्वय गर्न संघमा बलियो महिला नेतृत्वको आवश्यक उनले ठानेकी छन्।
उनले १२ बुँदामा आफ्ना विषयलाई राखेकी छन्।
१. गैरआवासीय नेपाली संघमा महिलाको सहभागिता न्युन रहेको छ। संघको हरेक तहमा प्रवासी महिलाको सहभागिता र पहुँच बढाउन महादेश स्तरीय भेला तथा गोष्ठी आयोजना गरिने छ।
२. गैरआवासीय नेपाली परिषद् (एनसीसी) मार्फत महिला अधिकार तथा मानव अधिकारका विषयमा महादेश स्तरीय सम्मेलन गरिने छ।
३. विश्वका जुनसुकै देशमा पुगेका महिला अप्ठेरोमा परेको समयमा सहयोग गर्न केन्द्रमा “महिला हेल्प डेस्क” स्थापना गरिने छ।
४. विदेशमा महिलाले सिकेका ज्ञान सिप र अनुभवलाई मातृभूमीमा महिलासंग अनुभव साटासाट तथा क्षमता विकासकोलागि विभिन्न कार्यक्रम सञ्चालन गरिने छ।
५. अन्तर्राष्ट्रिय सभा, सम्मेलन तथा गोष्ठीमा नेपालबाट महिलाको सहभागित बढाउन प्रोत्साहन र समन्वयन गरिने छ।
६.परदेश रहेका युवा महिलाहरुलाई मातृभूमिको सेवा र विकासकालागी स्वयंसेवा कार्यक्रम निर्माण गरी पहिलो चरणमा कम्तीमा ५० जना युवा महिलाहरुलाई मातृभूमिको सेवामा परिचालन गरिने छ।
७. विदेशमा रहेका महिलाहरु घरेलु हिंसाको शिकार भैरहेका छन् । रोजगारी तथा अध्ययनको क्रममा केही अप्ठेरो हुँदा आत्महत्या, डिप्रेशनजस्ता घटनाहरु बढेका छन् । महिलाहरुको आत्मविश्वास बढाउनको लागि स्वास्थ्य जागरण कार्यक्रम गरिने छ।
८. वैदेशिक रोजगारीकोलागि खाडी लगायतका देशमा पुगेका महिलाहरुको आपातकालीन सहयोगका लागी कोष स्थापना गरिने छ। कोष स्थापना तथा सञ्चालन गर्न कार्यविधी व्यवस्थित गरिने छ।
९. वैदेशिक रोजगारीमा देश बाहिर जान चाहने महिलाहरुलाई सकेसम्म देशमै आत्मनिर्भर हुन प्रोत्साहन गरिने छ । तर जानै पर्ने अवस्थामा सम्बन्धित देशको पुर्ण जानकारी लिएर मात्र जाने व्यवस्था गर्न सरकारसंग समन्वय गरिने छ।
१०. एनआरएनए महिला फोरमले स्वदेशमा रोजगारीसंगै सिप तथा तालिमकोलागि सरकारसँगै निजी क्षेत्रसंग समन्वय गर्ने छ।
११. विदेशमा जाने महिला घरेलु कामदारको निरुत्साहान र सीप सिकेर जानलाई प्रोत्साहन गरिने छ।
१२. अन्तर्राष्ट्रिय महिला फोरमले हाल नेपालका दुर्गम क्षेत्र लगायत विभिन्न ठाउंँहरुमा नियमित रुपमा सन्चालन गर्दै आइरहेको महिलाहरुको पाठेघर खस्ने समस्या लगायतका महिला स्वास्थ्य क्षेत्रमा भैरहेका कार्यहरुलाई देशभर अझ प्रभावकारी रुपमा अघि बढाउनेछ । आगमी कार्याकालमा नेपालका अति दुर्गम कम्तीमा ५ जिल्लाहरुमा महिला स्वास्थ शिविर संचालन गरिने छ।