घन्टौं लाइनपछि काउन्टरमा पुगेका यात्रुले पाउने जवाफ– आज टिकट छैन, भोली आउनू
काठमाडौं– दशैंका मुखमा बसपार्कमा टिकट काउन्टरले सिन्डिकेट चलाएका छन्। मनपरी रकममा टिकट बिक्रि गरिरहेका उनीहरूले घन्टौं लाइनमा बसेका यात्रुलाई निराश बनाएर फर्काउने गरेका छन्।
टिकटमा समस्या नआओस् भनी यातायात विभागले राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरेर अग्रिम टिकट खुलाए पनि काउन्टरवालाको सिन्डिकेटको समस्या ज्युँका त्युँ रहेको छ।
दैनिक १२ देखि १५ सय हाराहारीमा यात्रुले काठमाडौँ छाड्ने गरेका छन्। टिकटको लाइन बसेर काउन्टरमा पुग्न नै धौ धौ भइरहेको अवस्थामा ‘आज टिकट छैन भोली आउनू’ भनेर फर्काउने गरिएको सर्वसाधारणको गुनासो छ।
दाङ पुग्ने एक यात्रु भन्छन्,‘दुई घन्टा भयो यो लाईनमा बसेको तर अझै पालो आएको छैन खै कति समय लाग्ने हो। हामी जस्ताले गुनासो गरेर सरकारले सुन्नेवाला छैन, अनलाईन सिस्टमबाट बुकिङको व्यवस्था भए समय खर्च हुने थिएन।’
हरेक क्षेत्र डिजिटल माध्यममा गए पनि सिन्डिकेटका कारण टिकटको डिजिटल व्यवस्था हुन नसक्नुको उपजमा दुख पाइरहेको ति यात्रुको गुनासोले स्पष्ट गर्छ।
लाइनमा नै रहेकी एक महिला भन्छिन्,‘५–६ दिन अगाडि आएर घन्टांै लाईन बस्नपर्छ, कैले टिकट छैन भनेर फर्कादिन्छ।’ उनी २९ गतेका लागि दाङको तुलसीपुर जाने तयारीमा छिन्। ‘३ घन्टादेखि लाईन बसेर टिकट लिनु परेको छ, घरमा बालबच्चा छ, हेर्ने मान्छे छैन’, उनको दुखेसो छ।
त्यसैगरी तेह्रथुम जाने एक यात्री वैदेशिक रोजगारबाट १० वर्षपछि नेपाल आएका हुन्। उनी नेपालको टिकट व्यवस्था केहि परिवर्तन भए पनि पुरातन शैलीमै चलिरहेको बताउँछन्।
उनी भन्छन्,‘विदेशमा हरेक काम एउटा फोनबाट हुन्छ, तर यहाँ अझै लाईन बसेर टिकट काट्नु पर्ने अवस्था छ। यो दश बर्षमा परिवर्तन खासै भएको देखिन।’
यता बसपार्क भित्र काम गर्ने कार्मचारी भने अनलाईन सिस्टम लागू गर्न नसकिने बताउँछन्। ‘यसमा यात्रुहरुले बुझ्न चाहानु हुन्न, यो बेला माहोल खराब छ, एकजनाले यात्रा गर्ने ठाउँमा चार जनाले यात्रा गर्दाँ फरक पर्छ’, तिनले सुनाए। हालसम्म मात्र कोशीपारी जाने यात्री ३५ लाखले टिकट बुकिङ गरिसकेको पुर्वाञ्चल यातायात व्यावसायीका कर्मचारी भरत गिरी बताउँछन्।
नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लका अनुसार असोज २२ गते २४ हजार ३ सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भएका थिए, यात्रु गइसकेका छन्।
असोज २२ गते बुकिङ भएका टिकट मध्य कोशी, मधेस र बागमती प्रदेशका लागि १ हजार २ सय ३०, गण्डकी प्रदेशका लागि ९ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार ५ सय ३५, कर्णाली प्रदेशका लागि १ हजार ७ सय र सुदूरपश्चिम प्रदेशका लागि ६ हजार ९ सय टिकट बुकिङ भएका थिए।
यस्तै, असोज २३ गते कोशी, मधेस र बागमती प्रदेशका लागि १ हजार १ सय ७०, गण्डकी प्रदेश ५ सय, लुम्बिनी प्रदेश ७ हजार ५ सय ३५, कर्णाली प्रदेशमा १ हजार ६ सय २० र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय टिकट बुकिङ भएका थिए।
सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको टिकट खुला गरेको थियो।
पश्चिम नेपालको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ।
यस्तै, ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा चाडपर्व लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राखिएको बताए।