कोशी मुख्यमन्त्रीमा दुबै पक्षबाट ४७ सांसदको हस्ताक्षरसहित दावी पेश, केन्द्रमा तरंग
विराटनगर– कोशी प्रदेशमा केदार कार्की र इन्द्र आङ्बो दुबै पक्षबाट ४७/४७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश भएकाे छ ।
आज साँझ कार्की र आङ्बो दुबै पक्षबाट ४७/४७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आवश्यक संवैधानिक र कानुनी व्यवस्थाबारे सुझाव लिएर निर्णय गर्ने बताएका छन् ।
माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने गठबन्धनले निर्णय गरेसंगै कांग्रेसका ८ जना प्रदेश सांसदहरुले विद्रोह गरेर मुख्यमन्त्रीमा केदार कार्कीले दावी पेश गरेका छन् ।
प्रदेश सांसद कार्कीको नेतृत्वमा मुख्यमन्त्रीको दाबासहित ८ जना नेपाली कांग्रेस सांसदहरु र ३९ जना एमालेका प्रदेश सांसदहरु सहित ४७ जनाको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाइएको छ । केदार कार्की सहित ८ जना प्रदेश सांसदहरुले हस्ताक्षर बुझाए संगै कोशी प्रदेश मात्र नभइ केन्द्रिय राजनीतिसमेत तरंगित भएको छ ।
प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाउदै गर्दा नेपाली कांग्रेसका ८ जना प्रदेश सांसदहरु उपस्थित भएर अन्य प्रयोजनका लागि आफुहरुले गरेको हस्ताक्षर फिर्ता लिइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरेका छन् ।
यता, केदार कार्की नेतृत्वमा दाबा पेश गर्नुअघि नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गरिएको छ । इन्द्र आङ्बोलाई समर्थन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका ४७ जना सांसदहरुले हस्ताक्षर गरेको पत्र बुझाइएको छ ।
प्रदेश प्रमुख खापुङले असोज २० गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि दाबी पेश गर्न असोज २६ गते अपरान्ह ५ बजे सम्मको समय तोकेका थिए ।