सत्ता गठबन्धनमा शेखर कोइरालाले पिटेको डंका, कांग्रेस सभापति देउवालाई गतिलो झापु
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ताका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलील चित्रित गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको राजनीतिमा नैतिक पतनको सुरुआत भएको छ।
कांग्रेस भित्र र सत्ता गठबन्धनमा बलियो मानिएका देउवालाई शेखर कोइरालाले गतिलो राजनीतिक झापु हानेका छन्, कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको निर्णयमा। कोइरालाले सत्ता गठबन्धनमा नयाँ डंका पिटेका छन्, कोशीमा आफू पक्षधर केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गराएर।
कांग्रेसमा विपक्षी समूहका कोइरालालाई बरिष्ठ नेताको भूमिका समेत नदिएका देउवाका लागि कोशीको राजनीति महँगो परेको छ। कोशी प्रदेशमा आफ्नो सत्ता हुकुमत रहेको भन्ने सन्देश कोइरालाले दिएका हुन्। जम्मा ८ सांसदले पनि मुख्यमन्त्री बनाउन सकिन्छ भन्ने उत्तर उनले दिएका हुन्।
३२ सांसद रहेका माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेका देउवाका लागि यो जस्ताको त्यस्तै उत्तर भएको कोइराला पक्षधरका नेताहरु बताउँछन्।
‘कोइरालालाई राजनीतिक महत्व नदिने बरु माओवादी स्वीकार गर्ने भन्ने देउवाको नीतिले यहाँ पार पाउन सकेन, फरक मत राख्ने नेतालाई पनि स्वीकार गर्नुको विकल्प छैन भन्ने देउवाले बुझ्न सकेनन्’, कांग्रेसका एक नेता भन्छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा विकल्प दिन नसकेपछि शेरबहादुर देउवाले बाध्य भएर माओवादीका इन्द्र आङ्वोलाई सहयोग गर्ने निर्णय गरेका थिए। कांग्रेसमा उद्धव थापाको विकल्प शेखर कोइराला पक्षका केदार कार्कीलाई किञ्चित नमान्ने देउवाको अहंकारलाई एमालेको साथ लिएर उत्तानो परेको छ। यसले प्रदेश राजनीति या सत्ता गठबन्धनको राजनीतिमा कोइरालाको ताकत देखिएको छैन, कांग्रेसभित्र देउवाको एकाधिकार चल्दैन भन्ने गतिलो झापड पनि लागेको छ।
कोशी प्रदेशको सत्ता राजनीतिको साइड इफेक्ट यति मात्र नहुने अब आँकलन गर्न सकिने भएको छ। आगामी महिनाको तेस्रो साता हुने कांग्रेस महासमितिको बैठकमा पनि कोइरालाको ताकतलाई देउवाले सामना गर्नुपर्ने स्थिति उत्पन्न भएको छ।
यति मात्र होइन, कोइरालाको यो शक्तिसँग कांग्रेसभित्र हिन्दूत्वका विषय उठान गरेको एउटा बहुमत पक्ष उभिने सम्भावना बढेको छ। महासमिति बैठकमा कोइरालाले हिन्दूत्वको सवाल जबरजस्त बनाए, बहुमत महासमिति सदस्य उनको पक्षमा उभिँदा देउवाको जबरजस्त राजनीतिमा धक्का मात्र होइन, भूकम्प आउने विश्लेषण गरिन्छ।