नेभिगेशन
समाज विविध

७२ वर्षमा नागरिकता पाउँदा खुसी

अछाम– बहत्तर वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् ।

मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले आज  जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उनले खुसी व्यक्त गरे ।

लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भने, “ढिलै भएपनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।”

अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् ।  आवश्यक कागजातसमेत नबोकी वृद्ध अवस्थामा नागरिकता बनाउन आउनेको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताए ।

पछिल्लो समययता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडसमेत कम भई सेवाग्राहीलाई सहज हुन थालेको छ ।

अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात भएमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताए । ३० मिनेटमै सेवा पाउन थालेपछि अछामका ग्रामीण भेगबाट आउने सेवाग्राही निकै सहज भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता