एनआरएनएको निर्वाचनका बाँकी प्रक्रिया स्थगित
काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को सबै निर्वाचनको प्रक्रिया स्थगित भएको छ । निर्वाचन प्रक्रिया अघि बढाउन वर्तमान अध्यक्ष कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कूलर जारी गरेपछि हाललाई निर्वाचनका बाँकी सबै प्रक्रिया स्थगित गरिएको हो ।
एनआरएनएको ११औं महाधिवेशनमा नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरु राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठले धाँधली भएको आरोप लगाएका थिए । निर्वाचनको सबै प्रक्रिया रोक्न माग गर्दै उनीहरुले निर्वाचन अधिकृत समक्ष निवेदन दिएका थिए । विद्युतीय प्रणालीबाट भएको निर्वाचन प्रणालीमा गम्भीर त्रृटि भएको उनीहरुको आरोप छ ।
एनआरएनएको महाधिवेशन समापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो । मतपरिणामका सम्बन्धमा विवाद भएपछि प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रममा सहभागी भएनन् ।