हङकङसँग फराकिलो हारका बाबजुद युएई फाइनलमा, उपाधिका लागि शुक्रबार नेपालसँग भिड्ने
काठमाडौं - लिग चरणको अन्तिम खेलमा हङकङसँग फराकिलो हारका बाबजुद युएई राजधानीमा जारी टी–२० ट्र्यांगुलर सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
हङकङसँग फराकिलो हारका बाबजुद रनरेटका आधारमा युएईले फाइनलमा स्थान बनाएको हो ।
मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा हङकङले युएईलाई ६९ रनले हरायो ।
अब उपाधिका लागि शुक्रबार नेपाल र युएईबीच भिडन्त हुनेछ । लिग चरणका चारवटै खेल जितेर आठ अंकसहित नेपाल यसअघि नै फाइनल पुगिसकेको छ ।
आजको खेलमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको युएईले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४३ रन मात्र बनाउन सक्यो ।
हङकङका लागि हार्टिन कोइट्जीले ५५ बलमै ८६ रनको इनिङ खेले । यस्तै, बाबर हायातले जम्मा २० बलमा विस्फोटक ब्याटिङ गर्दै ६० रन बनाए । उनले १५ बलमै अर्धशतक पूरा गरेका थिए ।
यसैगरी, अन्सुमान रथले ३५ बलमा ४१ रनको योगदान दिए । हङकङका लागि भने खालिद साहले ३५, निलान्स केश्वानीले ३१ तथा आलिसान सराफु र बसिल हमिदले समान ३०–३० रनको योगदान दिए ।